Home Featuredहुलाकको सेवा प्रभावकारी बनाउन गुगल प्लस कोड प्रयोग गरिने

हुलाकको सेवा प्रभावकारी बनाउन गुगल प्लस कोड प्रयोग गरिने

by Saroj Pandey
2 minutes read

इन्टरनेटको पहुँच बढेसँगै खस्किएको हुलाक सेवालाई प्रभावकारी बनाउन गोश्वारा हुलाक कार्यालय, काठमाडौंले गुगल प्लस कोड प्रयोगमा ल्याउने भएको छ । प्लस कोड सुचना प्रविधि सँग सम्बन्धीत अमेरिकी कम्पनी गुगलले GPS प्रणालीमा आधारित भएर सञ्चालनमा ल्याएको लोकेसन कोड हो । अक्षांश र देशान्तरमा आधारित भइ अक्षर र अंक मिलेर बन्ने यो कोडलाई नेपाल सरकारले पनि आधिकारिक ठेगानाको मान्यता दिएको छ । हाल हुलाकमार्फत् कुनै चिठीपत्र तथा सामान ल्याउँदा जिल्ला, गाउँ वा नगर पालिका, वडा नम्बर, टोल, घर नम्बर तथा सम्पर्क नम्बर दिँदा समेत ठ्याक्कै भनेको ठाउँमा पुग्न सकिने अवस्था छैन। प्लस कोडको प्रयोगमा आएपछि भने हुलाकमार्फत् चिठीपत्र तथा सामान प्राप्त गर्नका सहज वातावरण बन्नेछ। गुगल प्लस कोडले दिने ठेगाना ठ्याक्कै मिल्ने भएकाले अव्यवस्थित सहरीकरण भएको काठमाडौं लगायतका नेपालका अन्य शहरमा पनि यो प्रभावकारी हुन सक्छ।

नेपाल सरकारले पारित गरेको कार्यविधि अनुसार गुगल प्लस कोड जेनेरेट गर्दा आफ्नो भौतिक संरचनाको प्रवेशद्वारलाई आधार मान्नुपर्नेछ र सोही संरचनामा धेरै जना भाडामा बसेको अवस्थामा उनीहरुले पनि सोही संरचनाको प्रवेशद्वारलाई आफ्नो ठेगानाको आधार बनाउन सक्ने छन्, चिठीपत्र तथा सामान वाहकले नाम सोधेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्नेछ।

कार्यविधि अनुसार सेवामा आबद्ध हुन चाहाने सार्वजनिक कार्यालयले आफ्नो प्लस कोड सर्वसाधारण तथा सेवाग्राहीले देख्ने गरि कार्यालयको नाम अंकित बोर्डमा र निजी संस्थाहरूका आफ्नो प्लस कोड अंकित बोर्ड स्पष्ट बुझिने गरी राख्नुपर्नेछ । सर्वसाधारण व्यक्तिहरूले पनि आफ्नो घरको प्लस कोड जेनेरेट गरी स्वयं वा स्थानीय टोल सुधार समिति वा स्थानीय निकायको सहजीकरणमा आफ्नो घर वा संरचनाबाहिर अरूले देख्ने गरी प्लेट टाँस्न सक्नेछन। प्लस कोड प्लेटलाई एकरूपता कायम गर्न नीलो रङमा सेतो अक्षरले केही टाढाबाट पनि सहजै पढ्न सकिने गरी राख्न सकिने व्यवस्था कार्यविधिले गरेको छ । सामान वितरण गर्ने कर्मचारीले प्रेषकले अंकित गरेको प्लस कोड मोबाइल फोनमा रहेको गुगल म्याप वा जीपीएस ट्र्याक गर्ने डिभाइसमार्फत पहिचान गरी प्लस कोड अंकित ठेगानामा वितरण गर्नेछन।

आफ्नो घर तथा कार्यालयको प्लस कोड plus.codes/map मा गएर थाहा पाउन सकिन्छ।

साथै गुगल म्यापको वेबसाईट maps.google.com खोलेर पनि चाहेको ठेगानाको प्लस कोड हेर्न सकिन्छ। यि दुवै तरिकावाट कोड लिन कुनै शुल्क पनि लाग्दैन ।

You may also like