अब लाइन हैन, अनलाइन…

‘अब लाइन हैन, अनलाइन’ भन्दै सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ। एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी लिन सकिनेछ । नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने छ ।

हाल नागरिक एपमा ९ वटा सेवा छन् र अबको तीन महिनाभित्र सबै सरकारी सेवा यो एपमा पाउन सक्ने अवस्था बनाउन लागेको नेपाल सरकारले जनाएको छ। बेटा भर्जनको रुपमा सार्वजनिक गरेको नागरिक एपमा सुरुवातमै प्राबिधीक त्रुटि पनि देखिएको छ। गुगल प्ले स्टोरमा नागरिक एपको प्याकेज नेममा सरकारी नाम हुनुको सट्टा एप बनाउने निजी कम्पनीको नाम रहेको भन्दै यसको आलोचना भएको छ। सो सँगै नागरिकको डाटामा पनि निजी कम्पनीको पहुँच हुन सक्ने शङ्का उब्जिएको छ।