काठमाडौं, जेठ ३० – अबदेखि नेपालमा उपलब्ध .np डोमेन नाम दर्ता गर्न र प्रयोग गर्न शुल्क तिर्नुपर्ने भएको छ। सरकारद्वारा तयार गरिएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदाले डोमेन दर्ता तथा नवीकरणमा शुल्क लिने प्रावधान राखेको छ।
६ महिनाभित्र पुराना डोमेन दर्ता गर्नुपर्ने
नयाँ व्यवस्था लागू भएपछि हाल प्रयोगमा रहेका सबै .np डोमेन प्रयोगकर्तालाई ६ महिनाभित्र औपचारिक दर्ता गरेर शुल्क तिर्नुपर्ने हुन्छ। यदि उक्त अवधिमा दर्ता नगरेमा डोमेन नाम स्वतः निष्क्रिय हुने जनाइएको छ।
२ वर्षमा अनिवार्य नवीकरण
प्रस्तावित कानुनअनुसार .np डोमेनको प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्नेछ, र नवीकरण गर्दा पुनः शुल्क लाग्नेछ। यसले डोमेन प्रणालीलाई दीर्घकालीन रूपमा व्यवस्थित र उत्तरदायी बनाउने सरकारको उद्देश्य रहेको छ।
सरकारी व्यवस्थापनमा आउने डोमेन प्रणाली
हालसम्म Mercantile Communications Pvt. Ltd. द्वारा सञ्चालित .np डोमेन प्रणाली अब सूचना प्रविधि विभाग (DoIT) अन्तर्गतको सरकारी निकायले हेर्ने व्यवस्था गरिएको छ। यसले डोमेन वितरण र प्रयोगमा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।
दुरुपयोगमा कारबाही, ५ लाखसम्म जरिवाना
प्रस्तावित विधेयकमा डोमेन नामको दुरुपयोग, ठगी, झुटा विवरण पेस गर्ने वा अरूको नामको गलत प्रयोग गर्ने कार्यलाई दण्डनीय मानेर रु. ५ लाखसम्मको जरिवानाको व्यवस्था गरिएको छ।
हालसम्म निःशुल्कमा पाइने .np डोमेन अब शुल्कसहितको हुनेछ
नेपालमा उपलब्ध .np डोमेन हालसम्म निःशुल्क रुपमा दिइँदै आएको थियो। नागरिक, संस्था तथा व्यवसायहरूले Mercantile मार्फत कागजपत्र पेश गरेर निशुल्क दर्ता गर्न सक्दथे। अब भने यो व्यवस्था पूर्ण रूपमा परिवर्तन हुँदैछ।
प्रयोगकर्ताहरूको तयारी आवश्यक
सूचना प्रविधि क्षेत्रका विज्ञहरूका अनुसार यो नयाँ व्यवस्थाले प्रणालीलाई व्यवस्थित त बनाउनेछ, तर साना व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूका लागि सुरुआती चरणमा अतिरिक्त आर्थिक भार हुन सक्छ। यसैले सबै प्रयोगकर्ताहरूले समयमै दर्ता प्रक्रिया पूरा गर्नुका साथै आगामी नवीकरण शुल्कका लागि पनि पूर्वतयारी गर्नुपर्ने देखिएको छ।
